निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी काम गर्छु : नेता पौडेल

Image
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी जनताको काम गर्ने बताए । लोकतान्त्रिक–बाम गठबन्धन टोखा नगरपालिका वडा नं ५ ले आज यहाँ आयोजना गरेको निर्वाचन लक्षित कार्यक्रममा बोल्दै उनले काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि ठूला साना समस्या तत्काल समाधान गर्ने बताए । “काठमाडौँ क्षेत्र नं ५ को विकास गर्न नसकेर नभएको होइन, गर्न नचाहेर नभएको हो, निर्वाचन जितेमा यसलाई समाधान गर्ने मेरो प्रमुख काम हुनेछ” उनले भने । काठमाडौँ क्षेत्र नं ५ को समस्या सांसदलाई तत्कालै थाहा पाउनका लागि ‘सांसद एप्स’ निर्माण गर्ने उनको भनाइ छ । नेता पौडेलले ऐतिहासिक र धार्मिक महत्वको बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्नका लागि आफूले पहल गर्ने उनले बताए । केन्द्रीय सदस्य सीता देवकोटाले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए। नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य कल्पना शर्माले लामो समयको सङ्घर्ष र आन्दोलनको उपलब्धिको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउनुपर्ने बताए । काठमाडौँ क्षेत्र नं ५ प्रदेशसभा (२) का उम्मेदवार श्यामबहादुर खड्काले पार्टी र गठबन्धनको झगडामा नअल्झिकन निर्वाचनमा केन्द्रीत हुन सबैलाई आग्रह गरे । काठमाडौँ क्षेत्र नं ५ गठबन्धनका निर्वाचन संयोजक दीपक केसी, कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीलगायतले पछिल्लो समय युवालाई जनताले विश्वास गरेको बताउँदै गठबन्धनका युवा उम्मेदवारलाई विजय गराउन सबै लाग्नुपर्नैमा जोड दिए ।
Tags: